मकवानपुर, १६ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा वडा नम्बर १५ शिखरपानी दमारटोलबाट लागुऔषधसहित २ जनालाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले लागुऔँषधसहित हेटौंडा–१५ का २५ वर्षीय राजकुमार मोक्तान र हेटौंडा–१६ का १९ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

बुधबार साँझ ६ बजेर ३० मिनेटको समयमा भित्री सडकमा लागुऔषध बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ । प्रहरीले उनीहरुको साथबाट लागुऔषध गाँजा ३ सय ७० ग्राम, ट्रमाडोल ९७ र एनार्गन ४२ ट्याब्लेट गरी १३९ ट्याब्लेट बरामद गरेको जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।