हेटौँडा, १८ कात्तिक । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाभन्दा बढीको ज्यान गएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालका अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि भुकम्पमा परि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का हेटौँडा, काठमाडौँ सहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।