फाईल तस्बिर

जाजरकोट, १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले अहिलेसम्म १ सय २९ जनाभन्दा बढीको ज्यान लिएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३७ जनाको ज्यान गएको हो । यो संख्या अझै बढ्न सक्ने देखिन्छ ।

गएराति गएको भूकम्पमा परेर अहिलेसम्म १सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । यसैबिच जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ । त्यस्तै, जाजरकोटकै नलगाड नगरपालिकामा उपमेयर सरिता सिंहसहित ५० जनाभन्दा धेरैको ज्यान गएको छ ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले सयौँ घर भत्किएका छन् भने घाईतेहरुको उद्धार कार्य जारि रहेको छ ।