मकवानपुर, २१ कात्तिक । धादिङ जिल्लाको खानीखोला ईलाका प्रहरी कार्यालयमा दरवन्दी रहेर हाल बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालकाको सुरक्षामा खटिएका असइ एमबहादुर सुवेदी हेटौँडाको जङ्गलमा मृत अवस्थामा भेटिएका छन् । मन्त्री दुलालको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका उनी मंगलबार बिहान ६ बजेको समयमा हेटौँडा ११ वनदेवी मन्दिर (पुण्यक्षेत्र) मा झुण्डिएको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मन्दिर नजिकै ४५ वर्षीय सुवेदी रुखको फेदमा बसेको र झुण्डिएको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिएका छन् । त्यस्तै प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, ती पुरुषको शव सालको रुखमा कालो पेटिको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो ।

शव पोष्टमार्टमको लागि हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ । उनले आत्महत्या गरेका हुन् वा उनको हत्या भएको हो भन्ने विषय एकिन भइसकेको छैन ।