मकवानपुर, २८ कात्तिक । सस्तोमा मोटरसाईकल मिलाईदिन्छु भन्दै एकान्त जंगलमा लगी लुटपाट गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिकाका २ युवालाई पक्राउ गरेको छ । प्रहरीले कैलाश गाउँपालिका–२, बैकुण्ठ बोटटोलका २५ वर्षीय विशाल मुक्तान र कैलाश गाउँपालिका–२, खारेटोलका ३१ वर्षी टोकल माईला भन्ने रुद्र मुक्तानलाई पक्राउ गरेको हो ।
प्रहरीले विशाललाई आइतबार र रुद्रलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार विशाल र रुद्रले गत शुक्रबार दिउँसो साढे २ बजेको समयमा मकवानपुर जिल्लाको थाहा नगरपालिका–३, भञ्ज्याङडाँडा खाप्चेखोलास्थित जंगलमा झापा जिल्लाको भद्रपुर नगरपालिका–३ का नरेन्द्र लिम्बुको साथबाट ३० हजार रुपैयाँ, मोबाइल एक थान लुटपाट गरी फरार भएको जनाएको छ । लुटपाटमा परेका व्यक्तिबाट उजुरी भएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार काठमाडौंमा घर बनाउने काम गर्ने क्रममा विशाल र नरेन्द्रबीच चिनजान भएको थियो । विशाल र रुद्रले हतियार जस्तो कालो बस्तु देखाई नरेन्द्रको साथमा रहेको नगद र मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ । विशाल र रुद्रमाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।












