मकवानपुर, ६ मंसिर । मंगलबारदेखि हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हेटौँडा स्पोर्टस् मुण्डियालको आयोजनामा सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार हेटौंडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा बारा जिल्लाको सिमरास्थित नव जनजागृति युवा क्लबले विजयी सुरुवात गरेको छ । खेलमा हेटौँडा–७ नागस्वतीस्थित नागस्वती युवा क्लबलाई सडनडेथमा ७–६ गोलले हराउँदै नवजागृतीले विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय २–२ गोलको बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट लिएको हो ।

१४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।