मकवानपुर, ७ मंसिर । हेटौँडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको बुधबा भएको पहिलो र दोस्रो खेलमा क्रमशः न्यु डाँफे युथ क्लब र रिगल हेटौँडा रिसोर्ट विजयी भएको छ ।

बुधबार हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो खेलमा पदमपोखरी फुटबल एकेडेमीलाई १–० गोल अन्तरले हराउँदै न्यु डाँफेले विजयी सुरुवात गरेको हो । न्यु डाँफेको जीतमा सुरज स्याङ्तानले निर्णायक गोल गरे । खेलको पहिलो हाफको १४ औँ मिनेटमा स्याङ्तानले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच डाफे युथ क्लबका शेख असरत घोषित भए ।

त्यस्तै दोस्रो खेलमा थाहा नगरपालिकालाई ५–१ गोल अन्तरले पराजित गर्दै रिगलले विजयी सुरुवात गरेको हो । रिगलको जीतमा अभिनाष स्याङ्तानले खेलको पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए । खेलको म्यान अफ द म्याच स्याङ्तान घोषित भए । यस्तै पहिलो हाफको ३६ औँ मिनेटमा मोहित गुरुङ्ले र ३८ औँ मिनेटमा रोशन दोङले १–१ गोल गरेका थिए । यस्तै दोस्रो हाफको ४६ औँ मिनेटमा अभिनाष स्याङ्तान र ७० औँ मिनेटमा सुजल श्रेष्ठले गोल गरे । थाहाका लागि एक गोल विनिशले गरे ।

१४ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिता अन्तर्गत बिहिबारको पहिलो खेलमा कमाने फुटबल एकेडेमी र रियल स्टार क्लब बिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा आयोजक एफसी मुण्डियाल र सहिद स्मृति क्लब बागमती गाउँपालिका बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उपाधी–विजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ शहित शिल्ड मेडल तथा प्रमाण प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन ।