कञ्चनपुर, ७ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, धनगढी उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय ईन्द्र बराल सुनार, ४३ वर्षीय खगेन्द्र बहादुर सोव र सोही उपमहानगरपालिका-४ बस्ने ४० वर्षीय दिपेन्द्र सिजापती रहेका छन् ।
उनीहरूमध्ये महेश डगौराले हत्या गरी सुनका गहना लुटेको, लक्ष्मण चौधरी र निरज भट्ट सुनका गहना बिक्री गर्ने तथा न्यू बर्दादेवी सुनचाँदी पसलका संचालक ईन्द्र बराल सुनार, न्यू दिया सुनचाँदी पसलका संचालक खगेन्द्र बहादुर सोव र सुजल सुनचाँदी पसलका संचालक दिपेन्द्र सिजापतीले उक्त सुनका गहना खरिद गरेको खुल्न आएको छ ।
नारुदेवी कात्तिक १९ गते दिउँसो घास काट्न भनि आफ्नो घर नजिक मध्यवर्ती सामुदायिक वनतर्फ गएकोमा घरमा फर्कि नआएछि खोजी गर्ने क्रममा कात्तिक २० गते उक्त वनमा शव फेला परेको थियो । घटनाको अनुसन्धानको क्रममा महेश डगौरालाई झलारी बजारबाट मंसिर १ गते प्रहरीले पक्राउ गरेको थियो ।
महेशले मध्यवर्ती सामुदायिक वनको गेटबाट भित्रतर्फ गइरहेको अवस्थामा नारूदेवीसँग घाँस काटिदिन्छु भनि हँसिया मागी सो हँसिया केहि टाढा फाली उनकै चुन्नी जस्तो कपडाले घाँटि कसी हत्या गरेको र मृतकको दुवै कानमा रहेका मुन्द्रा, नाकमा लगाएको फुली लुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै लुटिएका सुनका गहना समेत तीन वटै पसलबाट प्रहरीले बरामद गरेको छ । महेशलाई कर्तव्य ज्यान तथा लुटपाट शीर्षकमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












