मकवानपुर, ९ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । शुक्रबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा आयोजित समारोहमा दुई स्थानीय तहबीच भगिनी स्थापित गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले भगिनी सम्बन्ध कायम गर्ने सहमतीपत्रमा हस्ताक्षर गरे ।

दुई पालिकाकाबीच आसपमा असल अभ्यास, कार्य सम्पादनका सवालमा सिकाई लगायतका विषय आदान–प्रदान गर्नका लागि भगिनी सम्बन्ध कायम गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले बताइन् । आगामी दिनमा एकले अर्को पालिकालाई सहयोग गरी अघि बढ्नका लागि भगिनी सम्बन्धलाई प्रभावकारी ढङ्गबाट अगाडी बढाइने प्रमुख लामाको भनाई छ ।

गुरु रेम्पोछेको प्रतिमा शिलान्यास सहित दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापितको उद्देश्यले आयोजित कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत लक्ष्मण कुईकेल, प्रमुख रानीतिक सल्लाहकार शिशिर वाईवा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राम थापा, वडा नम्बर ९ का अध्यक्ष शुकराम केसी, हेटौंडा उपमहानगरपालिका प्रमुखका स्वकीय सचिव रूपा बिडारी, नागीथामडाँडा संरक्षण समितिका अध्यक्ष फुर्पासिंगी लामा लगायतको उपस्थिती थियो ।