तस्बिर– गोल हेटौँडा

मकवानपुर, १० मंसिर ।  मकवानपुरको  हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा  जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर र अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको क्वाटर फाईनल खेलमा जित हासिल गर्दै यी दुई टिम सेमिफाईनलमा प्रवेश गरेका हुन् ।

शनिबार भएको क्वार्टरफाइनल चरणको खेलमा रिगल हेटौँडा रिसोर्टले न्यु डाँफे युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । रिगल हेटौँडाको जितका लागि क्रितम स्याङबोले पहिलो हाफमा र दोस्रो हाफमा १–१ गोल गरेका थिए । यस्तै अनिष महर्जनले दोस्रो हाफमा १ गोल गरे । म्यान अफ द म्याच रिगल हेटौँडा रिसोर्टका क्याप्टेन क्रितम स्याङ्बो घोषित भए ।

शनिबार नै भएको दोस्रो खेलमा अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिकाले गोर्खालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । म्यान अफ द म्याच बागमतीका गोलरक्षक सरोज भोलन घोषित भए ।

हेटौँडा स्पोर्टस् एफसी मुण्डियाल क्लबले प्रतियोगिता आयोजना गरेका हो । आइतबार हेटौँडा फुटबल एकेडेमी र रियल स्टार क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।