मकवानपुर, १२ मंसिर । हेटौंडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा हेटौँडामा जारी ‘सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेञ्ज कप नकाउट फुटबल प्रतियोगिता’ को फाईनलमा बुधबार रियल स्टार क्लब र रिगल हेटौँडा रिसोर्ट क्लब भिड्ने भएका छन् ।
सोमबार हेटौंडा–५ पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा नवजनजागृति युवा क्लब सिमरालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै रियल स्टार फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच रियल स्टारका सोहन मोक्तान घोषित भए ।
यस्तै, सोमबार भएको दोस्रो खेलमा रिगल हेटौंडा रिसोर्ट फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्टले अखिल नेपाल खेलकुद महासंघ बागमतीलाई टाइबे्रकरमा ५–३ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइबे्रकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच रिगल हेटौंडाका गोलरक्षक क्रिशल मोक्तान घोषित भएका छ्न् ।
प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।












