मकवानपुर, १४ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाले पालिकामा भएका पूर्ण आपाङ्गता भएका मानिस र ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम गर्ने भएको छ । बिहीबार भएको कार्यपालिका बैठकले कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । घरदैलो कार्यक्रममा पूर्ण आपाङ्गता भएका मानिस र ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मी समेत खटाईने छ ।
स्वास्थ्य सेवा कार्यविधिअनुसार ज्येष्ठ नागरिक र पूर्ण आपाङ्गता भएका मानिसलाई घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिने छ । बैठकले भारी मेशिन (हेभी इक्यूपमेन्ट) प्रयोग गर्ने निर्णय समेत गरेको छ । पालिकामा उपभोक्त समितिबाट हुने काम समयमा सम्पन्न गर्नका लागि हेभी इक्यूपमेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बैठकले नदीजन्य पदार्थ उत्खनन ठेक्का खुलाउने निर्णय पनि गरेको छ । गाउँपालिकाले नगर प्रहरीहरुको नियुक्ति गर्ने र सेवा सुविधासम्बन्धी निर्णय गरेको छ । पालिकाभित्र स्थायी बसोबास गर्ने विपन्न बालबालिकाको शिक्षाका लागि गरिबसँग विश्वेश्वर शैक्षिक सहायता कार्यक्रमअन्तर्गत् विभिन्न विद्यालयमा अध्ययन गर्ने २३ जना विद्यार्थीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यसका लागि एक लाख ९६ हजार ४ सय रुपैयाँ रकम विनियोजन गरिने भएको हो ।
गरिबसँग विश्वेश्वर स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत् पालिकाले प्रत्येक वडाका २ सय जना मानिसको निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ । पालिकामा भएका मध्यम अपाङ्गता (ग वर्ग) भएका व्यक्तिहरुलाई निर्वाह भत्ता उपलब्ध गराउने कार्यविधि २०८० स्वीकृत गरेको छ ।
पालिकाले जाजरकोटको भूकम्प पीडितको राहतका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले वडा नम्बर २ र ३ जोड्ने कामीडाँडा सडक मर्मत गर्ने, वडा कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा अपुग सोलार इन्भर्टर राख्ने निर्णय गरेको छ ।












