मकवानपुर, १५ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा खाल्डो खनेर गैँडालाई मारेको आरोपमा प्रहरीले मकवानपुरका ४ जना, रोल्पा घर भइ हेटौँडामा बस्ने १ जनासहित ८ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।

गत मंसिर ९ गते ६ जना चितवनको राप्ती–६ बाट पक्राउ परेका थिए। मकवानपुरको हेटौंडा–३ लेवट बस्ने रमेश खाती, राप्ती–११ थाकलटार बस्ने ४२ वर्षीय पाशाङ भन्ने आइते सिंह मोक्तान, मकवानपुरको राक्सिराङ –९ घर भई हेटौंडा–४ बस्ने ४४ वर्षीय शमशेर थिङ, मकवानपुरको मनहरी–६ नयाँ बस्ती बस्ने ५६ वर्षीय सीताराम थिङ, रोल्पाको सुनछहारी–६ फगाम घर भई हेटौंडा–५ बस्ने अर्जुन रोक्का र गोरखाको बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरूङ राप्ती–६ बाट पक्राउ परेका थिए।

त्यसको दुई दिनपछि चितवनको कोराक घर भई राप्ती–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान र मकवानपुरको मनहरी–७ ज्यामिरे घर भई माडीको बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भन्ने ईन्द्रबहादुर तामाङ राप्ती–५ बाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमध्ये रमेश खाती, सीताराम थिङ गैंडा मार्न योजना बनाउने व्यक्ति रहेको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले बताए। आइते सिंह मोक्तान, उनबहादुर स्याङतान र ईन्द्रबहादुर तामाङ उनीहरूको उक्साहटमा गैंडा मार्न बन्दुक लगायतको हतियार बोकेर निकुञ्ज पसेको देखिएको पुनले बताए। शमशेर थिङ, अर्जुन रोका र धनबहादुर गुरूङले खाग बिक्री वितरणको काम गरिरहेका थिए। उनीहरूलाई खाग बिक्रीका लागि तयारी गर्दैगर्दा पक्राउ गरिएको हो।