ललितपुर, १५ मंसिर । अमेरिकी डलरसहित विभिन्न धनमाल चोरी गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुरको बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

उनीहरूमध्ये सबिन र राजुले चोरी गर्ने तथा मनोज र उमेशले चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।