मकवानपुर, १८ मंसिर । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय तहहरुका प्रायजसो प्रमुखहरुले नदिजन्य पदार्थका राजश्वका बारेमा कुरा उठाए । संघी र प्रदेश सरकारले साथ नदिएकोदेखि पत्रकारहरुले आफ्नो दलकेन्द्रित भएर समाचार लेखेर असहयोग गरेको समेत उनीहरुले गुनासो गरे । स्थानीय तहहरुले गरेका काम, काम गर्दा आएका समस्या र आगामी दिनमा स्थानीय तहले गरेका अपेक्षाका बारेमा प्रस्तुतीकरण दिने समयमा उनीहरुले त्यस्तो गुनासो गरेका हुन् ।

त्यस्तै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने जोड दिए । पछिल्लो समय देशमा तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व जस्तो स्थिति पैदा भएको उनले उल्लेख गरेका छन् ।

त्यस्तै कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारीले सुर्य प्रसाद सेढाईले कर्मचारिहरु नागरिकलाई सेवा, प्रविधी र प्रवाहमा केन्द्रीत भएर लाग्न निर्देशन दिएका छन् । स्थानीय तह बेरुजु उत्पादन गर्ने अड्डा जस्तो भएको भनाईहरु उठ्न थालेको भन्दै उनले सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । स्थानीय स्रोतको दोहन, सार्वजनिक सम्पत्तिको दुरुपयोग, दोहोरो भुक्तानीको समस्या रोक्नुपर्ने उनले उल्लेख गरेका छन् । स्थानीय तहहरुमा रहेको न्यायिक समितिको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै प्रजिअ सेढाईले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

यसैगरि, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले प्राकृतिक स्रोतको उपयोग गर्ने नीतिहरु बन्ने क्रममा रहेको र आर्थिक समृद्धिकालागि त्यस किसिमका नीतिहरु आवश्यक रहेको भनाई कार्यक्रममा राखेका छन् । समयमा नीतिहरु नबन्दा स्थानीय तहहरुले समस्या भोगिरहेको प्रमुख घलानले उल्लेख गरेका छन् ।

विभिन्न सम्मान कार्यक्रम

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान गरेको छ । कर्मचारीतर्फ कैलाश गाउँपालिकाका अनमी आशा कुमारी गुरुङ झा, बकैया गाउँपालिकाका मनिषा पराजुली, जिसस मकवानपुरका अमृता खनाल सम्मानित हुनुभएको छ । यस्तै, खेलतर्फ कराँतेमा थाहा नगरपालिकाका मान सिं दोङ, सामुदायिक वन मनहरी मकवानपुरका सिमपानी देवकोट समुदायिक वन उपभोक्ता समिति, शिक्षातर्फ इन्द्रसरोवर गाउँपालिकाको चन्द्र आधारभुत विद्यालय र साना किसान महिला उद्यमीतर्फ गीता मैनाली सम्मानित हुनुभएको छ । समाजसेवीतर्फ थाहा नगरपालिकाका यादवजंग रायमाझी, सहकारीतर्फ जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेड, श्रमिक साना किसान कृषि सहकारी संस्था लिमिटेड, गैससतर्फ हेटौंडा उमपहानगरपालिकाको ग्रामीण जीवनस्तर सुधार मञ्च सम्मानित भएको छ ।