
जी. न्यौपाने
मकवानपुर, १९ मंसिर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ की सुस्मिता लामालाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङले स्वास्थ्य उपचारमा मदत गर्नुका साथै पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेको छ ।
बिगत ३ वर्षदेखि क्षयरोग लागेर गम्भिर बिरामी भएकी सुस्मितालाई वडा र सामुदायिक प्रहरीको सहयोगमा हेटौँडा अस्पतालमा निःशुल्क उपचार गरिएको हो । पिडित लामाको निःशुल्क स्वास्थ्य बिमा पनि गरिएको वडा सचिव जीवन ढुङ्गेलले जानकारी दिए ।
२१ वर्षीया पिडित लामा लामो समयसम्म आफ्नो रोगबारे अनभिज्ञ थिईन् । रोग पत्ता नलागेर उनी घरमै बस्न बाध्य भएकी थिईन् । तर स्वास्थ्य जाँचपश्चात उनले आफुलाई क्षयरोग लागेको थाह पाईन् । स्वास्थ्य समस्या जटिल भएपछि उनलाई २ दिनसम्म सघन उपचार कक्ष (आईसियु) मा राखेर उपचार गरिएको थियो । उपचार पछि स्वास्थ्यमा सुधार आएको लामाले बताईन् ।
सहयोग वितरण कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञराज आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र थानाभर्याङका अध्यक्ष देवकुमार श्रेष्ठ, सामुदायिक सेवा केन्द्रका प्रहरी सहायक हवल्दार निमा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।