मकवानपुर, २८ मंसिर । मकवानपुरको हेटौँडामा जारी मकवानपुर जिल्ला लिग क्लालिफाई फुटबल प्रतियोगिता २०८० को सेमिफाईनलमा जीत हासिल गरेपछि पञ्चशील युवा क्लब हेटौँडा १२ बेलडाँडालाई सहयोग प्राप्त भएको छ ।
क्लब फाईनलमा प्रवेश गरेसँगै हेटौँडा १२ बेलडाँडा निवासी अम्बिका बलले खेलाडीहरुको हौसला बढाउन आर्थिक सहयोग गरेकी हुन् । बुधबार हेटौँडा ५ पिप्ले–क्याम्पा रंगशाला परिसरमै उनले क्लबलाई नगद ५ हजार र म्यान अफ द म्याच भएका खेलाडी राजन गोलेलाई नगद १ हजार रुपैयाँ सहयोग गरेको क्लबका संयोजक बिरेन कुमार लोप्चनले जानकारी दिएका छन् ।
रंगशालामा खेलको प्रत्यक्ष दर्शकका रुपमा उपस्थित भएकी अम्बिकालाई पञ्चशीलका खेलाडीहरुको प्रदर्शन निक्कै मन परेको थियो । क्लबले ३–० गोलको फराकिलो अन्तरमा जीत हासिल गरेपछि उनले खुशी हुँदै क्लबलाई सहयोग गरेकी हुन् । उनको सहयोगबाट खेलाडीहरुको हौसला बढ्नुका साथै फाईनल भिडन्तका लागि थप उर्जा प्राप्त भएको संयोजक लोप्चनले बताए ।










