तस्बिर–चन्द्रकान्त चौधरी

मकवानपुर, ९ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरमा आइतबारदेखि फार खरिद तथा संकलन कार्य शुरु भएको छ । बुढिचौरस्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरेको मकवानपुरगढी गाउँपालिकाका कृषि विकाश अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिएका छन् ।

गाउँपालिकाबाट प्रति केजी मूल्य रु १०० तोकिएकोमा सहकारीले रु ११० प्रतिकेजीमा फापर खरिद गरिएको र उक्त मूल्यमा पनि अनुदान रकम समेत थप गरि प्रति केजी जम्मा ११६ रुपैंयाको दरले कृषकहरुबाट फापर खरिद गरिएको उनले बताए ।

सहकारीले पहिलो दिन २१ जना कृषकहरुबाट २ हजार १ सय ७४ केजी फापर खरिद गरेको छ । आइतबार फापर बिक्री गर्ने कृषकहरुमध्ये मकवानपुरगढी ८ बुढिचौरका कृषक चन्द्र बहादुर लुङ्वाले सबैभन्दा बढी २६८ केजी फापर विक्री गरेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नम्ब ८ का वडा अध्यक्ष कुमार सिं घिसिङ, वडा सदस्यद्वय गोकुल प्रसाद देवकोटा र सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा संकलनको कार्य शुरुवात गरिएको हो ।