मकवानपुर, १२ पुस । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयता कार्यान्वयन सुधारोन्मुख भएको दाबी गर्नुभएको छ । बिहीबार हेटौंडामा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले संघीयता कार्यान्वयन सुधारोन्मुख भएको दाबी गर्नुभएको हो ।

उहाँले दोहोरो ऐन निर्माण हुँदा संघ, प्रदेश र स्थानीय सरकारबीचमा चुनौती देखा परेको तर अधिकार प्राप्तिका लागि प्रदेश सरकारको प्रयास जारी रहेको बताउनुभयो । पछिल्लो समय विभिन्न स्थानहरुमा बहस भएजस्तो संघीयता विकासविरोधी नभएको पनि उहाँले दाबी गर्नुभयो । देश संघीयतामा गएपछि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रहरूमा विकास भएको मुख्यमन्त्री जम्मकट्टेललको भनाइ छ।
कार्यक्रममा बोल्दै राष्ट्रिय गाउँपालिका महासंघकी अध्यष लक्ष्मीदेवी पाण्डेले व्यवस्था राम्रो भएको भएता पनि त्यसलाई कार्यान्वयन निकाय सध्रिनुपर्ने बताउनुभयो । नेपाल नगरपालिका महासंघका अध्यक्ष भिमप्रसाद ढुङ्गानाको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, सातै प्रदेशका मूख्य सचिव तथा सचिवहरु, प्रमुख न्यायाधिसहरु, गाउँपालिका पदाधिकारीहरु लगायत अन्य प्रमुखहरुको सहभागिता रहेको छ ।

बिहीबारबाट शुरु भएको कार्यक्रम शुक्रबारसम्म चल्नेछ । शुक्रबार सातै प्रदेशका मूख्यमन्त्रीसँग तिन तहको सरकारलाई कसरी बलियो बनाउने भन्ने विषयमा छलफल गरिनेछ ।










