मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार हुने संकेत देखिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा बजार क्षेत्रका घरधनीले राजमार्ग विस्तार रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेज भएसँगै हेटौँडाको सडक विस्तार हुने संकेत देखिएको हो ।
मंगलबार न्यायाधीश शारङ्गा सुवेदी र सुशील कुमार पोखरेलको संयुक्त इजलासले रिट निवेदन खारेज गर्ने निर्णय गरेको थियो । हेटौँडाका घरधनी रिट निवेदकहरुले विपक्षीको रुपमा डिभिजन हेटौँडा र जिल्ला प्रशासन कार्यालय मकवानपुर बनाएर रिट दायर गरेका थिए ।
यसअघि पटक पटक प्रयास गर्दा पनि सर्वोच्चमा परेको रिटकै कारण सडक विस्तार रोकिँदै आएको थियो । सडक विस्तार क्षेत्रमा घरजग्गा परेका हेटौँडाका स्थानीयहरुले आफुहरुले उचित मुआब्जा पाउनुपर्ने माग गर्दै आएको छ भने सरकार पक्षले पहिला नै मुआब्जा दिएको भन्दै बाटो विस्तार गर्न जोड दिँदै आएको छ । दुबै पक्षबिच सहमति हुन नसक्दा हेटौँडामा सडक विस्तार योजना लामो समयदेखि अलपत्र पर्दै आएको छ ।