मकवानपुर, १९ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकहरुबाट उत्पादित कोदो, फार र जुनेलो जस्ता रैथाने बालीहरु त्यहाँस्थित सहकारी मार्फत खरिद तथा विक्री वितरण भइरहेको छ । गाउँपालिकाका कृषि विकास अधिृकत चन्द्रकान्ता चौधरीका अनुसार केही सातादेखि शुरु भएको विक्री वितरण कार्य अहिले पनि निरन्तर भईरहेको हो ।
गाउँपालिकाको वडा नम्बर ४ अन्तर्गत कालीखोला क्षेत्रमा उत्पादित कोदो संकलन र विक्री वितरण भईरहेको छ । चौधरीका अनुसार हालसम्म करिब ७ मेट्रिक टन कोदो संकलन भएको छ । साथै कालीखोला ब्राण्डमा कोदोको पिठो बजारमा समेत उपलब्ध भइरहेको छ ।

त्यस्तै गाउँपालिकाको वडा नम्बर ८ बुढिचौरमा हालसम्म ५ मेट्रिक टनभन्दा बढी फापर संकलन भैसकेको छ । समुन्द्री सतह देखि ११०० मिटर भन्दा माथिल्लो क्षेत्रमा उत्पादित मिठे फापर र तिते फापर स्वादिलो हुने भएकोले यसको माग बजारमा राम्रो छ ।
गाउँपालिकाको वडा नम्बर १ रानीसेरा र आसपासका क्षेत्रमा भने त्यहाँ उत्पादित जुनेलो खरिद विक्री भइरहेको छ । चौधरीका अनुसार हालसम्म ८ सय केजी जुनेलो संकलन भएको छ ।

यी क्षेत्रबाट संकलित रैथाने बालीका उत्पादनहरु सहकारी संस्थाबाट बिक्री वितरण समेत भइरहेको छ । घट्टमा पिसेको कालीखोलाको कोदो पिठो, बुढिचौरमा उत्पादित मिठे फापर र तिते फापरको पिठो तथा रानीसेरामा उत्पादित जुनेलो त्यहाँस्थित अपाङ्ग तथा विपन्न सहकारी संस्थाबाट बिक्री वितरण भईरहेको छ । गाउँपालिकाले गाउँमा नै उत्पादित रैथाने बालीको उत्पादनलाई उपभोग गर्न पनि आग्रह गर्दै आएको छ ।











