चन्द्र घलान, मकवानपुर, २० पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित २ चर्चित शैक्षिक संस्थाबिचको बाटोको विषयलाई लिएर भएको विवाद २४ वर्षपछि समाधान भएको छ । नेपालकै चर्चित विद्यालयहरुमध्येको एक आधुनिक राष्ट्रिय मावि र हेटौँडा क्याम्पसबिच बाटो प्रयोग गर्ने विषयमा विवाद देखिएको थियो । वि.सं. २०५६ सालदेखि शुरु भएको उक्त विवाद आजबाट दिर्घकालिन रुपमा समाधान भएको आधुनिक राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहम्मद समिमले जानकारी दिएका हुन् ।

शुक्रबार विद्यालय र क्याम्पसका संचालक समितिहरु र अन्य आधिकारिक व्यक्तित्वहरुबिच सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । सहमतिका क्रममा अध्यक्ष समिमसहित हेटौँडा क्याम्पस संचालक समितिका अध्यक्ष आनन्दराम पराजुली, उपाध्यक्ष श्रीधर पोखरेल, भुटनदेवी माध्यमिक विद्यालयका अध्यक्ष फुर्वा लामा, आधुनिकका सल्लाहकार मदन दाहाल, क्याम्पसका कार्यवहाक क्याम्पस प्रमुख बालकृष्ण शर्मा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

आधुनिक माविले हेटौँडा क्याम्पस हुँदै जाने बाटो हेटौँडा क्याम्पस बन्नुअघिदेखि नै भोगचलन गर्दै आएको दाबी गर्दै आएको थियो भने क्याम्पसले उक्त जग्गा क्याम्पस मातहत भएकोले त्यसलाई कसरी प्रयोग गर्ने भन्ने अधिकार क्याम्पसलाई हुनुपर्नेमा जोड दिँदै आएको थियो । यी विषयमा भएको विवाद लामो समयपछि आजबाट अन्त्य भएको हो ।