मकवानपुर, २१ पुस । मकवानपुरको हेटौँडा मानव अधिकारका विषयमा सरोकारवालहरुसँग छलफल भएको छ । मानव अधिकार संरक्षण सम्बर्धनमा सरोकारवालासँगको समन्वय र सहकार्य विषयक छलफल कार्यक्रम सम्पन्न भएको हो । मकवानपुरमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा कार्यक्रम भएको थियो ।
मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रममा मानव अधिकार आयोगकी प्रमुख उपसचिव सम्झना शर्माको अध्यक्षतामा विभिन्न संघ संस्थाहरुले मानव अधिकारका घटनाहरुको बारेमा जानकारी गराएका थिए । साथै, मानव अधिकार उल्ल्घंनका घटना न्यूनिकरणका लागि संघ संस्थाले गरेका पहल तथा नियन्त्रण हुन नसकेका प्रतिनिधि घटनाहरुको बारेमा जानकारी गराइएको थियो ।
जिल्लामा रहेका बालबालिका सम्बन्धिको घटना, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका घटना, अपांगता भएकाहरुको समस्या तथा घरेलु हिंसाका घटनाहरुले समाजमा पारेका प्रभावका बारेमा जानकारी गराइएको थियो ।
मानव अधिकार आयोग बागमती प्रदेशकी निमित्त प्रमुख रेवा रेग्मीले मानव अधिकार उल्लंघनका घटना भएको पाइएमा मानव अधिकार आयोगको कार्यालयमा जानकारी गराउन अनुरोध गरिन् । कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, बाल हेल्प लाईन (सिविन) का कार्यक्रम संयोजक झविन्द्र ज्ञवाली, गैर सरकारी संस्था बागमती प्रदेशकी अध्यक्ष आरती पाठक, माइती नेपालकी कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुरकी कुमारी वाइबा, फ्रेण्ड्स हेटौंडाकी संयोजक किरण थापा लगाएतको उपस्थिती रहेको थियो ।










