मकवानपुर, २१ पुस । नेपाल प्रहरीले देशका विभिन्न स्थानहरुबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार उनीहरुलाई प्रहरीले प्राप्त सूचनाका आधारमा पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम २ मिलिग्रामसहित मोरङ बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय युवकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शर्मालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीको चुरे गाउँपालिका-५ खानिडाँडास्थित होटल संचालन गरी सोही ठाउँ बस्ने ५० वर्षीय गोरे जागरी समेत ३ जनालाई अवैध लागूऔषध चरेश करिब ४ किलो, तराजु १ थान र ढक २ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले जागरीको होटल तलासी गर्दा लुकाई छिपाई राखेको उक्त चरेश फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ ब्लक नम्बर २३ बस्ने २३ वर्षीय युवक र २४ वर्षीय युवक रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित पार्टि फ्लो रेष्टुरेन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्रामसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २१ वर्षीय ३ युवकरहेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।










