जी. न्यौपाने
मकवानपुर, २३ पुस । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनको लागि बागमती प्रदेशमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडामा राष्ट्रियसभाको निर्वाचनका लागि आज विभिन्न दलका १६ जनाको उम्मेद्वारी परेको हो ।

बागमती प्रदेश क्लस्टरको राष्ट्रिय सभा सदस्यको ४ पदको लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट विवेक देवकोटा, त्रिलोचन निर्मल पौडेल, धुर्वराज विश्वकर्मा र रोजकुमारी चौलागाईँको उम्मेदवारी दर्ता भएको छ ।

राप्रपाको तर्फबाट हेमजंग गुरुङ, पूर्ण बहादुर विश्वकर्मा, बालकुमारी डल्लाकोटी, भरतमणि भट्ट र नेपाल मजदुर किसान पार्र्टीबाट श्रीकृष्ण महर्जन, कृष्णलक्ष्मी दुवाल, संगिता नेपाली र हिमालयश्वर मुलले मनोनयन दर्ता गराएका छन् ।