मकवानपुर, २५ पुस । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ को बकैया रंगशालामा जारी पाँचौँ बकैया गोल्डकपको दोस्रो दिन आज २ खेलहरु हुँदैछ ।
दिउँसो १ बजे हुने पहिलो खेलमा वडा नम्बर १ र वडा नम्बर २ को जुनियर टोली भिड्नेछ । दिउँसो ३ बजे हुने दोस्रो खेलमा वडा नम्बर ५ र वडा नम्बर ७ को सिनियर टोलीहरुबिच प्रतिस्पर्धा हुनेछ ।
यसअघि उद्घाटन खेलमा हिजो वडा नम्बर ३ विजयी भएको थियो । वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनियर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ ।