मकवानपुर, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित माध्यामिक विद्यालयको प्राङ्गणमा माघ १ गते छैठौं थारु माघी महोत्सव हुने भएको छ । थारु जातिको साँस्कृतिक, लोक कला, भाषा दर्शन, साहित्य, रितिरिवाज, र थारु परिकारहरुको व्यवसायिकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको माघी महोत्सव मूल आयोजक समिति मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाद्वारा महोत्सवको उद्धघाटन हुनेछ । बिहान १० बजे भुटनदेवी विद्यालयको चौरबाट थारु जातिको पहिचान झल्किने भेषभुषा र साँस्कृतिक झाँकीसहित सिमाचोक, बुद्धचोक, कान्तिलोकपथ हुँदै पुःन भुटनदेवी विद्यालयको चौरमा पुगी मूल समारोह सभामा परिणत हुने कार्यक्रम रहेको जनाईएको छ ।

महोत्सवमा थारु जातिको विशेष परिकारहरु घुँगी, तिलको लड्डु, बरी, अदौरी, गँगटो, अमादीके, आदिको सःशूल्क स्टल रहने छ । साथै थारु जातिको साँस्कृतिक नाचगानको साथै आन्तरिक तथा बाह्य कलाकारहरुको गीत र नृत्यबाट दर्शकहरुलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकोे छ । साथै महोत्सवलाई करिब ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सव बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा माघी महोत्सव मूल आयोजक समिति मकवानपुरका सभापति सचिदानन्द चौधरी, उपसभापति शिला चौधरी, सचिव चन्द्रकान्त चौधरी, सहसचिव रामानन्द चोधरी, कोषाध्यक्ष उमा चौधरी, साथै सदस्यहरु रिना चौधरी, सिया चौधरी, रञ्जु चौधरी, ललित चौधरी, सन्दिप चौधरी र सरोज चौधरी लगाएतको उपस्थिति रहेको थियो ।










