तस्बिर–ईशान रुपाखेती

चन्द्र घलान
मकवानपुर, २ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेको चन्द्रोदय खेल मैदानमा जारी यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाईनलका २ खेलहरु हुँदैछ । दिउँसो १ बजे हुने पहिलो क्वाटरफाईनल खेलमा हुप्रा सिटी र देवनगर एफसीबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल दिउँसो ३ बजे कर्णावती टोल र कालिकामाई टोलबिच हुनेछ ।

प्रतियोगिता अन्तर्गत यसअघि सोमबार भएको खेलमा फायरलाईन एफसी, मर्निङ स्टार र रामनगर युवा क्लबले जीत हासिल गरेको स्थानीय ईशान रुपाखेतीले जानकारी दिनुभयो । सोमबार बिहान भएको पहिलो खेलमा तितेपानी एफसी र फायरलाईन एफसीले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेपछि खेलको नतिजा पेनाल्टि शुटआउटबाट तय गरिएको थियो । पेनाल्टि शुटआउटमा फायरलाईन एफसीले तितेपानी एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा पनि मर्निङ स्टार र नागस्वती युवा क्लबले निर्धारित समयमा १–१ गोल गरेपछि खेल पेनाल्टि शुटआउटमा धकेलिएको थियो । पेनाल्टिमा मर्निङ स्टारले नागस्वती युवा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।

सोमबार नै भएको तेस्रो खेलमा रामनगर युवा क्लबले मनकामना टोललाई २–० गोल अन्तरले पराजित गरेको छ ।

कर्णावती युवा क्लबको आयोजनामा पुस २९ गतेदेखि जारी प्रतियोगिताको फाईनल खेल माघ ६ गते शनिबार हुँदैछ । प्रतियोगितामा १५ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधी विजेताले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।