मकवानपुर, ३ माघ । मकवानपुरको हेटौँडामा नेपाल आईडल सिजन ५ को प्रि–अडिसन सम्पन्न भएको छ । मंगलबार हेटौँडा ९ मा अवस्थित कृष्ण आदर्श ईङ्लिस बोर्डिङ स्कूलमा प्रि–अडिसन भएको हो ।
अडिसनमा मकवानपुर र चितवनका साथै मकवानपुर आसपासका क्षेत्रबाट सहभागीहरुले अडिसन दिएको नेपाल आईडल टिमले जनाएको छ । मकवानपुरबाट यसअघि नेपाल आईडल र अन्य रियालिटी शोहरुमा सहभागिता जनाएका केही प्रतियोगीहरुले पनि पूनः सहभागिता जनाएका छन् ।
पटक–पटक सर्दै आएको नेपाल आईडलको अडिसन गत पुस २१ गते झापाबाट सुरु भएको थियो । हेटौँडापछि माघ ८ गते अत्तरियामा अडिसन हुनेछ । नेपाल आईडलको यस सिजनमा शोका पुरानै निर्णायकहरु फर्किएका छन् । सिजन ४ मा सहभागी नभएका शोका पुराना निर्णायकहरु न्ह्यु बज्राचार्य, ईन्दिरा जोशी र कालिप्रसाद बासकोटा यस सिजनमा पूनः निर्णायकका रुपमा फर्किएका हुन् । त्यस्तै शोकी पुरानै होष्ट रिमा विश्वकर्मा पनि यसै सिजनबाट शोमा फर्किएकी छिन् ।
नेपाल आईडलमा हालसम्म बुद्ध लामा, रवि ओड, सज्जा चौँलागाईँ र भुपेन्द्र थापा मगर विजेता बनिसकेका छन् ।










