मकवानपुर, ३ माघ । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले धर्मले सामाजिक सद्भाव कायम राख्ने बताउनुभएको छ । आज श्रीकृष्ण प्रणामी मुलमन्दिर गौरिटारको ५५ औँ वार्षिक उत्सवको तेस्रो दिन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रमुख अतिथि बानियाँले कृष्ण प्रणामी समाज सामाजिक सेवाप्रति उल्लेखनीय योगदान रहेको बताउनुभएको हो ।

उहाँले प्राकृतिक प्रकोपको बेला होस् अथवा धार्मिक जनचेतना एवं मानवीय सेवा कार्यमा कृष्ण प्रणामी समाज अग्रपंतिमा रही काम गरिरहेको उल्लेख गर्नुभयो । प्रमुख अतिथि बानियाँले ७ दिनसम्म चलिरहेको साप्ताहिक श्रीमत्तार्ताम्सागर पारायणको सातौँ दिनको भक्तजनहरुले ग्रहण गर्ने भोजन प्रसादको लागि आफ्नो तर्फबाट १५ हजार मन्दिरमा प्रदान गर्ने वचन समेत दिनुभयो।

मन्दिरका अध्यक्ष राजु नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला अध्यक्ष केदार चौलागाईंले जिल्लामा रहेको कृष्ण प्रणामी मन्दिरहरुको गतिविधिबारे बोल्नुभएको थियो ।