मकवानपुर, ५ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेको चन्द्रोदय खेल मैदानमा जारी यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिताको फाईनलमा हुप्रा सिटी र कर्णावती टोल भिड्ने भएका छन् ।
बिहीबार भएको सेमिफाईनल खेलमा हुप्रा सिटीले फायरलाईन एफ.सीलाई १–० गोल अन्तरले पराजित गरेर हुप्रा सिटी फाईनलमा प्रवेश गरेको हो । त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाईनल खेलमा कर्णावती टोलले रामनगर युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको स्थानीय ईशान रुपाखेतीले जानकारी दिनुभयो ।

कर्णावती युवा क्लबको आयोजनामा पुस २९ गतेदेखि जारी प्रतियोगिताको फाईनल खेल माघ ६ गते शनिबार हुँदैछ । प्रतियोगितामा १५ वटा टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको उपाधी विजेताले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।










