मकवानपुर, ७ माघ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेको चन्द्रोदय खेल मैदानमा भएको ‘कर्णावती युवा क्लब यु–६० केजी एट–ए साईड नकाउट फुटबल प्रतियोगिता’को उपाधि हुप्रा सिटीले जितेको छ । शनिबार भएको फाईनल प्रतियोगितामा कर्णावती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

खेलको समापनमा कार्यक्रमका प्रमुख अतिथि हेटौँडा ८ का वडाअध्यक्ष रामकृष्ण थापाले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए । स्थानीय ईशान रुपाखेतीका अनुसार खेलको उत्कृष्ट गोलरक्षक कर्णावती युवा क्लबका शक्ति मोक्तान, उत्कृष्ट डिफेण्डर हुप्रा सिटीका विकास तितुङ, हाई स्कोरर कबिर लामा र उत्कृष्ट खेलाडी र म्यान अफ दि म्याच विश्वास भोलन भएका घोषित भएका थिए ।

कर्णावती युवा क्लबको आयोजनामा पुस २९ गतेदेखि प्रतियोगिता शुरु भएको थियो । प्रतियोगितामा १५ वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको उपाधी विजेताले नगद ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेताले नगद १५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।










