तस्बिर–जी. न्यौपाने

मकवानपुर, ७ माघ । मकवानपुरको विभिन्न स्थानमा भेटघाट र पुजाअर्चनापश्चात पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किएका छन् । पूर्व राजा शाहले बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर, हेटौंडा–१० स्थित भुटनदेवी मन्दिर र हेटौंडा– १३ पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बामा पुजाअर्चना गरेका छन् ।

पूर्व राजा शाहले आईतबार साँझ हेटौँडा ५ स्थित हेटौँडा रिसोर्टमा राप्रपाका विशिष्ट नेताहरु तथा अन्य शुभेच्छुकसँग पनि भेटघाट गरेका थिए । भेटघाट पश्चात उनी काठमाडौँ फर्किएका हुन् ।

उनको स्वागतमा राप्रपाका नेता कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरुले ठाउँठाउँमा स्वागत गेट बनाएर घडा राखेका थिए भने राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए । राप्रपाका नेता एवम् प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको नेतृत्वमा गठित समितिले शाहको स्वागत सम्मान गरेको थियो ।