जी. न्यौपाने, मकवानपुर, ८ माघ । हेटौँडा उपमहागनरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको ४८ औँ वार्षिक उत्सव सोमबार सम्पन्न भएको छ ।

वार्षिक उत्सव कार्यक्रममा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गर्नुका साथै विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गरेका थिए । विद्यालयले उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावलगायतलाई सम्मान गरेको थियो । उत्सवका अवसरमा विद्यालय परिसरमा विभिन्न प्रतियोगिताहरु समेत संचालन गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षतामा भएको वार्षिक उत्सव समापन कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनको लागि ‘सिद्धार्थ बालवाटिका’ नामक त्रैमासिक पनि प्रकाशन गर्दै आईरहेको छ ।

कार्यक्रममा संविधानसभा सदस्य तथा मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्त पौडेलको विशिष्ट आतिथ्यता, हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका दिपेन्द्र सुवेदी, राष्ट्रिय परिक्षा बोर्डका प्रमुख कृष्णप्रसाद घिमिरे, हेटौँडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखा प्रमुख हरिषचन्द्र सापकोटा, विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्मा लगायतको आतिथ्यता रहेको थियो ।