मकवानपुर, ९ माघ । मकवानपुरको बागमती गाउँपालिकामा फागुन १ गतेबाट छैठौं संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
बागमती–८ स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा एक विदेशी टिम, ६ वटा “ए” डिभिजन क्लब र ३ वटा मोफसलको गरि १० वटा क्लबहरूको सहभागिता रहने छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।










