मकवानपुर, ११ माघ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित भुटनदेवी स्कुल परिसरमा बिहान ९ बजेबाट राष्ट्रियसभा सदस्य निर्वाचनको बागमती प्रदेश तर्फको रिक्त ४ सदस्यका लागि मतदान सुरु भएको छ ।

मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुका लागि र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानस्थलको प्रबन्ध मिलाइएको छ ।मतदान आज दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान प्रक्रिया सकिएलगत्तै मतगणना गरी आजै बेलुका नतिजा सार्वजनिक गरिने बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

मतदान प्रक्रियामा बागमती प्रदेश सभा सदस्यहरु ११० जना र ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३७ जना गरी कूल ३४७ जना सहभागी हुँदैछन् । मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक–फरक रहनेछ । निर्वाचनको लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चार–चार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एकएक जना गरी १५ जनाले उम्मेदवारी दिएका छन् । हेटौंडामा मतदान केन्द्रमा अधिकृतसहित १०–१० जना गरी २० जना कर्मचारी खटाइएको छ ।