मकवानपुर, १५ माघ । नेपाली कांग्रेस मकवानपुरले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ ।केन्द्रीय निर्देशन बमोजिम जिल्लामा पनि अभियान सुरु गरिएको र औपचारिक सुभारम्भ भने माघ १६ गते सहिद दिवसको दिनबाट हुने सभापति बुद्ध लामाले जानकारी दिए ।
यो अभियान माघ २६ गतेसम्म सञ्चालन हुने र त्यस अवधिमा समुदायस्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने गरी अभियान सुरु गरिएको लामाले बताए ।
अभियानका लागि केन्द्रीय प्रतिनिधिको रुपमा राजन केसी मकवानपुर आइसकेका छन् । जिल्लाको १०२ वटै वडामा पुग्नका लागि प्रतिनिधि तोकिएको छ । कांग्रेस मकवानपुरले विस्तारित बैठक बोलाई पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु तथा समग्र कार्यकर्ताहरुलाई अभियानमा सक्रिय सहभागी हुन आग्रह समेत गरेको छ । अभियानका क्रममा वडावासीसँग खुल्ला छलफल गरी तीनवटै तहका सरकारसंगका जनताको अपेक्षा, गुनासा र सुझाव सुन्ने पार्टीका बारेमा जनताका सुझाव लिइने उनले बताए ।










