मकवानपुर, १४ फागुन । कृषि क्षेत्रको विकासलाई प्रागथमिकता दिँदै आएको मकवानपुरको बकैया गाउँपालिकाले पालिकालाई मौरीपालन पकेट क्षेत्रको रुपमा विकास गर्ने तयारी थालेको छ । पालिकाले अध्ययनपछि मौरीपालनको सम्भावना रहेको क्षेत्रका किसानलाई मौरीको घार वितरण गरेको छ । बकैया गाउँपालिकाले वडा नं. ११ स्थित आहालेमा आइतबार आयोजित कार्यक्रममा पालिकाको वडा नम्बर १०, ११ र १२ किसानलाई १३३ वटा मौरीको घार वितरण गरेको हो ।

गाउँपालिकाले यसअघि वडा नम्बर ११ र १२ का किसानलाई लक्षित गरी एक हप्ते मौरीपालन सम्बन्धी तालिम दिएर मौरी घार वितरण गरेको हो । पालिकाले सेरेना जातको मौरीपालनको लागि ६ लाख ६५ हजार रुपियाँ बराबरको मौरी घार वितरण गरेको छ । मौरी घार वितरण गर्दै बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको कृषि ग्राम निर्माणलगायतका कृषि क्षेत्रमा बकैया गाउँपालिकाले गरेको लगानीको प्रसंशा गर्नुभयो ।

कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लमिछानेले बकैयामा मौरीपालनको राम्रो सम्भावना रहेको अध्ययनले देखाएको बताउँदै किसानको आयआर्जन वृद्धिमा सहयोग गर्दै आत्मनिर्भर बनाउन पालिकाले मौरी घार उपलब्ध गराएको बताउनुभयो । उहाँले पालिकाका किसानले उत्पादन गर्ने कृषिजन्य उत्पादनको बजारीकरणका लागि पालिकाले सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रमका बकैया गाउँपालिका वडा नं. १० का वडाध्यक्ष कमला कुमारी वाईबा, वडा नं. ११ का वडाध्यक्ष गोपाल न्यासुर लामा, वडा नं.१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाई, गाउँपालिकाका कृषि अधिकृत सचित रिजाललगायत स्थानीय किसानको उपस्थिति रहेको थियो ।