मकवानपुर, १२ असार । हेटौँडा उपमहानगरपालिकाबाटै उत्पादित चिप्स र दालमोठले मान्यता पाएको छ । हेटौँडा ६ मा रहेको सक्रिय महिला समुहले सञ्चालन गरेको सक्रिय महिला उद्योगले उत्पादन गरेको चिप्स र दालमोठले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र पाएको हो ।
उद्योगले अनुज्ञापत्र पाएपछि नगरका मेयरदेखि स्थानीयसम्म खुशी भएका छन् । उद्योगले अनुज्ञापत्र पाएको खुशियालीमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र वडा नम्बर ६ का अध्यक्ष बिष्णुबहादुर दाहालले एक कार्यक्रमकाबिच अनुज्ञापत्र सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।ठ
अनुज्ञापत्र सार्वजनिक कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलसहित उद्योगका कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।










