मकवानपुर, २१ असार । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठसहितको टोलीले हेटौँडामा वृक्षा रोपण गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले हेटौंडा हरियाली प्रवर्द्धनमा सधै अगाडि रहेको दाबी गरेका छन् ।
शुक्रबार हेटौंडा ८ मा रहेको विन्दवासिनी मन्दिर तथा पार्क संरक्षण क्षेत्रमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा मन्त्री श्रेष्ठले ग्रीन सिटिको रुपमा हेटौंडा सधैं अगाडि रहेको दाबी गरेका हुन् ।
मन्त्री श्रेष्ठले यस्तै सार्वजनिक जग्गाहरुलाई संरक्षण गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न रोपिएका बिरुवाहरुको हेरचाह र संरक्षणमा ध्यान दिन समेत आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले हेटौंडा कर्रा खोलालाई व्यवस्थित बनाउन हेटौंडा–९ त्रीवेणीधाम देखि हेटौंडा–१८ सम्म कर्रा करिडोर निर्माणका लागि वजेट विनियोजन गरिएको बताए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले वृक्षारोपणको औचित्यता र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावको वारेमा चर्चा गरे । त्यस्तै मन्दिर तथा पार्क संरक्षण समितिका अध्यक्ष रमेश पौडेलले मातपोतमा ‘मसान’ नाममा दर्ता कायम रहेको २ कठ्ठा ४ धुरसहित करीव १० कठ्ठा क्षेत्रफल एलानी रहेको जग्गालाई संरक्षण गर्दै स्थानीयको सक्रियतामा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लागिएको बताए । साथै उक्त क्षेत्रको भोगाधिकार समितिलाई उपलब्ध गराइदिन प्रमुख जिल्ला अधिकारी चिलुवाल र मन्त्री श्रेष्ठलाई आग्रह गरे ।
मन्दिर तथा पार्क क्षेत्रमा रुद्राक्ष, सतिसाल, एभोकाडो, अम्बा, आँप, अमला, कलकी र सौन्दर्यकरण जातका बिरुवा गरि करीब ८५ वटा बिरुवा रोपिएको छ ।
वृक्षरोपणका लागि विरुवाहरु डिभिजन वन कार्यालय हेटौंडा र वनस्पति अनुसन्धान केन्द्रबाट उपलब्ध गराईएको डिभिजन वन कार्यालय हेटौंडाका रेन्जर वसन्त राज गौतमले जानकारी दिए ।