मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ नारासहित वडालाई निकृष्ट बालश्रम, बाल विवाहमुक्त घोषणा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

हेटौंडा–१६ नम्बर वडाका वडाअध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा बालमैत्री घोषणा गरिएको हो ।

नगर कार्यपालिकाकी प्रमुख लामाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा प्रतिबद्धता पत्र अध्ययनसँगै हस्ताक्षर गर्नुहुँदै बालमैत्री घोषणा गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणालाई उपमहानगरले अभियानको रुपमा सुरु गरिएको बताउनुभयो । अभियान सुरु गर्दा बालश्रम अन्त्य हुन नसक्ने उहाँको भनाई छ ।

यसैगरी हेटौंडा–१६ नम्बर वडाका वडाध्यक्ष कोइरालाले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै ५१ वटा सूचक पूरा गर्दै वडालाई बालमैत्री घोषणा गर्न सफल भएको जानकारी दिनुभयो । घरधुरी तथ्यांक संकलन सर्वेक्षण–२०७९ अनुसार १ हजार ६ सय ६० घरधुरी रहेको छ । १८ वर्षभन्दा मुनिका २ हजार ३ सय ८० बालबालिका रहेको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याएको भन्दै वडा सहजकर्ता, नगर सहजकर्ता, बालसमूह र विभिन्न संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको छ । यस्तै सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रवक्ता सविन न्यौपाने लगायत जनप्रतिनिधी, अभिभावक, विद्यार्थीको उपस्थिति रहेको थियो ।