मकवानपुर, १९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित कान्ति लोकपथ सडकको दायाँबायाँ बिरुवा सहितको गमला राखिएको छ । बुधबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले गमला राख्ने कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

हेटौँडा ६ को शान्ति टोल विकास संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका सडकको दायाँबायाँ बिरुवा सहितको गमला राख्ने कामको सुरुवात गरेको हो । टोल विकास संस्थाले करिब २ सयवटा बिरुवा सहितको गमला राख्ने तयारी गरेको टोल विकास संस्थाले जनाएको छ ।

गमला राख्ने कार्यक्रमको उद्घाटनमा नगरप्रमुख लामा सहित वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्यहरु, संस्थाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।











