मकवानपुर, ३० मंसिर । पछिल्लो समय ईण्डियन आईडल सिजन १४ मा तहल्का मच्चाईरहेकी नेपाली गायिका मेनुका पौडेलको आवाजमा चलचित्र ‘सलार’ को गीत सार्वजनिक भएको छ । मेनुकाको आवाजमा रहेको ‘सुरजही छाओ बनके’ बोलको गीत सार्वजनिक भएको हो ।

मेनुकाको आवाजमा रहेको गीतमा रिया मुखर्जीको शब्द र रवि बस्रुरको संगीत रहेको छ । ईण्डियन आईडलमा गोल्डेन माईक जित्दै हरेक प्रस्तुतिमा भारतीय र नेपाली श्रोता दर्शकहरुको मन जितेकी मेनुकाले गाएको यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । उनको आवाजलाई मनपराएर हजारौँ दर्शकहरुले सकरात्मक कमेन्ट गरेका छन् । गीतले सार्वजनिक भएको केही समयमै लाखौँ भ्यूज प्राप्त गरिसकेको छ ।

नेपाल आईडल सिजन १ मा उत्कृष्ट ११ सम्म मात्र पुगेर बाहिरिएकी मेनुकाले अहिले ईण्डियन आईडलमा लोभलाग्दो चर्चा पाईरहेकी छिन् । उनको गीत सुनेर निर्णायकहरु रुने गरेका छन् भने शोमा आएका कलाकारहरुले उनलाई सुरकी देवीको उपमा दिएका छन् । नायक रणविर कपुरले उनको खुट्टा समेत छोएका थिए । मेनुका वि.सं. २०५५ मा झापाको हल्दिबारीमा जन्मिएकी थिईन् । जन्मदा देखि नै आँखा देख्न नसकेकी मेनुकाले ७ वर्षकै उमेरमा सँगीतसँग परिचित हुन थालेकी थिईन् ।

एसएलसीपछि नै उनले सँगीत विषय नै लिएर अध्ययन गरेकी थिईन् । उनले यसअघि नै सारेगमपमा पनि निक्कै चर्चा पाएकी थिईन् । तर त्यहाँ पनि उनी उत्कृष्ट ११ बाट शोबाट बाहिरिएकी थिईन् । नेपाल आईडलमा पनि निर्णायकहरुले उनलाई कोईलीका रुपमा चर्चा गरेका थिए । तर भोटका कारण उनी शोबाट बाहिरिएकी थिईन् ।