मकवानपुर, २ पुस । मकवानपुरको मनहरीमा जारी मनहरी गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगितामा ६ र ७ नम्बर वडा विजयी भएका छन् । आईतबार भएको खेलमा उनीहरुले जीत हासिल गरेका हुन् ।

आइतबार भएको पहिलो खेलमा ५ नम्बर वडालाई ३-० गोल अन्तरले पराजित गर्दै ६ नम्बर वडा विजयी भएको छ । पहिलो खेलको म्यान अफ दि म्याचको ट्रफी र २ हजार रकम सहित अभिषेक खड्का सम्मानित भएका थिए ।

त्यस्तै आइतबार नै भएको दोस्रो खेलमा १ नम्बर वडालाई सर्वाधिक ७-० गोल अन्तरले पराजित गर्दै ७ नम्बर वडा विजयी भएको छ । खेलको पहिलो हाफमै ७ नम्बर वडाले ५ गोल गर्न सफल भयो र दोस्रो हाफमा थप २ गोल गर्दै ७ गोल गर्यो । उक्त खेलमा सर्वाधिक ३ गोल गर्ने खेलाडी तथा टिमका क्याप्टेन मनिस पौडेलले नगद २ हजार सहित म्यान अफ दि म्याचको ट्रफी हासिल गरे ।

मंसिर ३० गते देखि मनहरी-७ रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको समापन पुस ५ गते हुनेछ । गाउँपालिकाको प्रायोजनमा भएको उक्त खेल खेलकुद विकास समितिले आयोजना गरेको हो । खेलमा प्रथम हुने टिमलाई नगद रु १ लाख र दोस्रो हुनेलाई नगद रु ५० हजार सहित दुबै टिमलाई शिल्ड , मेडल र प्रमाणपत्र सहित सम्मान गरिने छ ।