जी. न्यौपाने
मकवानपुर, ९ पुस । बागमती प्रदेशको राजधानी हेटौडामा विभिन्न कार्यक्रम गरी क्रिसमस मनाइएको छ । आजभन्दा २ हजार ३ सयवर्ष अगाडि यरुशलेम सहरको बेतलेहेम गाउँमा येसु ख्रिष्टको जन्म भएको र उनले संसारको पापीहरुको उद्वार गर्ने भन्दै त्यो सम्झनामा क्रिसमस मनाउने गरिएको ईसाई धर्मावलम्वीहरु बताउँछन् ।
क्रिसमस मनाउने क्रममा क्रिसमसको पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान, क्याण्डल र्याली र चर्चमा भेला भएर एकअर्काबिचमा शुभकामना आदानप्रदान गर्ने, मिठोमसिनो खाने र कतिले गरिब दुःखीहरुलाई आवश्यकता अनुसारको सहयोग पुर्याएर क्रिसमस मनाउने गरिएको छ ।
यसैक्रममा पाष्टर एशोसिएसन मकवानपुर हेटौँडाले क्रिसमस शुमकामना आदानप्रदान २०८० कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै ईसाई समाजले क्याण्डल र्याली लगायतका क्रियाकलाप गरेर त्रिसमस मनाएका थिए भने पुस ९ गते क्रिसमसका दिन हेटौँडाका विभिन्न चर्चहरुले चर्चमै भोजभतेर गरेर क्रिसमस मनाएको थियो ।










