तस्बिर– चन्द्रकान्त चौधरी

मकवानपुर, १० पुस । मकवानपुरको मकवानपुरगढी १ रानीसेरामा जुनेलो खरिद तथा संकलनको कार्य शुरुवात भएको छ । मकवानपुरगढी गाउँपालिकाले रैथानेबालीको प्रवर्द्वन गर्ने सिलसिलामा गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नम्बर १ का वडा अध्यक्ष आईत सिं लो को उपस्थितिमा जुनेलो संकलन गरिएको गाउँपालिकाका कृषि विकास अधिकृट चन्द्रकान्त चौधरीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष स्याङ्तानले रानीसेराका कृषक लाल बहादुर भोम्जनलाई चेक हस्तान्तरण गरि जुनेलो खरिदको कार्य शुरुवात गरेका थिए । मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को रानीसेरा, रानीडाँडा, आँपटार, ढाप लगायतका क्षेत्रमा कृषकहरुले जुनेलो लगाउँदै आईरहेका छन् ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्य रु ८४ मा अनुदान रकम समेत थप गरि प्रति केजी ९० रुपैंयाको दरले जुनेलो खरिद गरेको हो । रानीसेरामा सोमबार पहिलो दिन ८ जना कृषकहरुबाट ६५३ केजी जुनेलो खरिद भएको छ । जुनेलो विक्री गर्ने कृषकहरु मध्ये मकवानपुरगढी १ रानीसेराका कृषक लाल बहादुर भोम्जनले सबैभन्दा बढी १८१ केजी जुनेलो विक्री गरेका छन् ।

गत वर्ष कृषकहरुले जुनेलो प्रति केजी ६५ देखि ७० रुपैयामा बिक्रि गरेकोमा यस वर्ष गाँउपालिकाले मूल्य तोकी दिएर अनुदान समेत व्यवस्था गरि प्रति केजी ९० रुपैयाँका दरले पाएकोमा कृषकहरु खुशी र उत्साहित भएको वडा नम्बर १ का वडा अध्यक्ष आईत सिं लो ले बबताए ।

खाद्य सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएका खाद्यान्नबाली जुनेलोको क्षेत्रफल दिनानुदिन घट्दै गईरहेको अवस्थामा यसको संरक्षण, सम्वर्द्वन र प्रवर्द्वनमा सवैजना लाग्नुपर्नेमा अधिकृत चौधरीले जोड दिए । बिश्वमा नै मुख्य खाद्यान्न बालीको रुपमा रहेको गहुँ, धान, मकै र जौ पछिको महत्वपूर्ण बालीको रुपमा जुनेलो रहेको छ । जुनेलोलाई स्थानीय तामाङ भाषामा कोङ्ग्रे भनिन्छ । जुनेलोको रोटी, ढिँडो, जुनेलोको लड्डु, जुनेलो भुटेर र जाँड लगायतका परिकार बनाएर यसको उपभोग गर्न सकिन्छ ।