साँकेतिक तस्बिर

मकवानपुर, १२ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिकी २२ वर्षीया एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । युवतीलाई स्थानीय एक युवकले बलात्कार गरेपछि युवतीले विष सेवन गरेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

युवतीको आफन्तका अनुसार स्थानीय २५ वर्षीय रोशन लामा भ्लोनले पुस ६ गते बिहान ४ बजेको समयमा घरमा सुतिरहेकी युवतीलाई बलात्कार गरेको र कसैलाई नभन्नु भनी धम्क्याएपछि पीडित युवतीले सोही दिन बिहान ७ बजे विष सेवन गरेकी थिईन् । युवतीलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएको र थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो ।

उपचारपछि आफ्नी आमालाई घटनाबारे बताएपछि घटना बाहिर आएको थियो । पीडित युवतीले पुस १० गते मंगलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी छिन् ।

युवतीको जाहेरीका आधारमा प्रहरीले बलात्कार अभियोगमा २५ वर्षीय रोशन लामा भ्लोनलाई पक्राउ गरेको छ ।