मकवानपुर, १६ पुस । बागमती प्रदेश सरकारले प्रदेश भ्रमण वर्ष– २०२४ सुरु गरेको छ । सोमबार बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले हेटौंडामा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरे ।
बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र सम्भावनाहरुको पहिचान, संरक्षण, सम्बर्धन र प्रचार प्रसार गरी पर्यटकीय गतिविधिहरुलाई अभिवृद्धि गर्ने उद्देश्यले भ्रमण वर्ष सुरु गरिएकाो जनाइएको छ ।
सन् २०२४ को पहिलो दिन सोमबार मन्त्री महर्जनले प्रदेशका केही पर्यटकीय स्थलहरुको दृश्य समेटिएको भिडियो सामाग्री देखाउँदै भ्रमण वर्ष २०२४ को औपचारिक शुभारम्भको घोषणा गरेका हुन् । मन्त्री महर्जनले बागमती प्रदेशका पर्यटकीय स्थलहरुमा पर्यटक आवागमन बढाउँदै अर्थतन्त्रलाई समेत गतिशिल बनाउने उद्देश्यले भ्रमण वर्षको शुभारम्भ गरेको बताए । उनले विश्व सम्पदा सूचिमा समेत समावेश भएका यस्ता ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक सम्पदाहरुको उचित संरक्षण र प्रचार प्रसार गरी आगामी दिनहरुमा धेरै भन्दा धेरै पर्यटकहरुले भ्रमण तथा अवलोकन गर्ने वातावरणको निर्माण गर्नु भ्रमण वर्षको मुल उद्देश्य भएको बताए ।

विगतमा कोभिड १९ को महामारी तथा अन्य विभिन्न कारणले सुस्ताएको पर्यटन क्षेत्रलाई पुनः जीवन्त र गतिशिल बनाउन प्रदेश भ्रमण वर्ष कार्यावयनबाट सहयोग पुग्ने मन्त्रालयले विश्वास लिएको छ ।
भ्रमण वर्षमा विविध कार्यक्रम गर्नका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयका सचिव गोविन्दप्रसाद रिजालले जानकारी दिए ।










