मकवानपुर, १८ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङ पूर्व पश्चिम सडकखण्डमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । हेटौँडा बजारबाटबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले डडेलधुरा आलिताल गाउँपालिका ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत २५ वर्षिय प्रहरी जवान बिनोद एडीलाई ठक्कर दिँदा उनको ज्यान गएको हो ।

सोही घटनामा थप ३ जना घाईते समेत भएका छन् । पीटी दौडिदै गरेका एडीलाई मोटरसाईकलले ठक्कर दिएपछि उनी घाईते भएका थिए । घाईते भई उपचारको लागी हेटौडा अस्पताल तर्फ पठाएकोमा उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

एडीलाई ठक्कर दिएपछि मोटरसाईकल अनियन्त्रित भई पल्टदा चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौर बस्ने ४१ वर्षिय लक्ष्मण लामा घाइते भएका छन् । उनको टाउको र हातमा चोट लागेको छ । उनलाई हेटौडा अस्पतालबाट नयाँ मेडिकल कलेज चितवनमा थप उपचारको लागि पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोही घटनामा प्रहरी गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र प्रहरी जवान बिजय खत्री पनि घाईते भएका छन् । सार्कीको
दायाँ हातमा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै खत्रीको बायाँ खुट्टा र बायाँ हातमा भित्रि चोट रहेको प्रहरीले जनाएको छ ।