मकवानपुर, २२ पुुस । राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी संस्थाको २४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारीले आर्थिक वर्ष २०७९–०८० मा ६ करोड ८० लाख ८४ हजार ३० रुपैयाँको कारोबार गरेको संस्थाका अध्यक्ष यादविन्द्र पौडेलले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष यादविन्द्र पौडेलको सभाध्यक्ष तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा सहकारीका उपाध्यक्ष फणिन्द्रप्रसाद तिमल्सिना, सचिव नेत्रप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो ।
वि.स. २०५६ साल माघ १३ गते स्थापना भएको सहकारी संस्थामा १ सय ५५ जना महिला, ३ सय ९९ जना पुरुष र अन्य संस्थागत ३ गरी असार मसान्तसम्म ५ सय ५७ शेयर सदस्य रहेको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०७९–०८० मा ३ करोड ५ लाख रुपैयाँ ऋण लगानी गर्ने लक्ष्य लिएकोमा ३ करोड ८८ लाख ४९ हजार रुपैयाँ लगानी गरेको उहाँले बताउनुभयो । ऋण असुलीतर्फको लक्ष्य २ करोड रुपैयाँ रहेकोमा ३ करोड १२ लाख ४६ हजार रुपैयाँ असुली गर्न सफल भएको अध्यक्ष पौडेलले बताउनुभयो ।
आर्थिक वर्ष ०७९–०८० मा संस्थाको शेयर पुँजी १ करोड २४ लाख २५ हजार ३ सय रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । बाह्य ऋण सापटी चुक्ता हुन बाँकी नभएको भन्दै उहाँले सहकारीको जगेडा कोषमा २ करोड ७९ लाख जम्मा भएको बताउनुभयो । गत आर्थिक वर्षको खुद मुनाफाको २५ प्रतिशतले हुने रकम ११ लाख ५३ हजार ७७१ र अन्य कोषहरु समायोजन बाट ४१ लाख १५ हजार साधारण जगेडा कोषमा थप भएको उहाँले बताउनुभयो ।










